-सम्झना श्रेष्ठ
हेटौंडा, १४ भदौ ।
बागतमी प्रदेशमा दुई वर्षमा २ हजार २ सय ५२ जना मानिस घरेलु हिंसाबाट पिडित भएका छन् । निषेधाज्ञा भोगेको यो दुई वर्षमा बागमती प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा २ हजार २ सय ५२ जनामाथि घरेलु हिंसा भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ११२६ वटा घरेलु हिंसा सम्बन्धि उजुरी प्रहरीमा दर्ता भएको पाइएको छ ।

यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा समान ११२६ वटै उजुरी परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । प्रहरीको तथ्यांकलाई हेर्दा सबैभन्दा बढि घरेलु हिंसा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा देखिएको छ । यहाँ गत आर्थिक वर्ष २०७७/०७८ मा २७६ वटा घरेलु हिंसा भएको पाइएको छ । यो संख्या अघिल्लो अािर्थक वर्ष २०७६/०७७ मा पनि समान २७६ नै रहेको प्रहरी उपरिक्षक अधिकारीको भनाई छ ।

यसैगरि यो दुई अािर्थक वर्षमा सबैभन्दा कम रसुवा जिल्लामा घरेलु हिंसा भएको तथ्यांकमा उल्लेख छ । रसुवामा गत आर्थिक वर्ष २०७७/०७८ मा ५ वटा घरेलु हिंसाका घटना भएको पाइएको छ भने आघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १७ जना मानिस घरेलु हिंसाबाट पिडित भएको पाइएको छ ।

यस्तै चितवनमा आर्थिक वर्ष २०७६/०७७ मा ९१ वटा घरेलु हिंसाका घटना भएकोमा यो संख्या बढेर आर्थिक वर्ष २०७७/०७८ मा १५४ वटा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

यसैगरि धादिङ्मा आर्थिक वर्ष २०७६/०७७ मा २१० वटा घरेलु हिंसा भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या घटेको पाइएको छ । गत अर्थिक वर्ष मा १९५ वटा हिंसाका घटना सम्बन्धि उजुरी प्रहरी समक्ष आइपुगेको पाइएको छ ।

यस्तै नुवाकोटमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष हिंसाका घटनामा कमी आएको देखिएको छ । जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ८४ वटा हिंसा भएकोमा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/०७८ मा ७४ जना मानिस हिंसाबाट पिडित भएको पाइएको छ ।

प्रहरीको तथ्यांक अनुसार काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७६/०७७ मा १९४ वटा घरेलु हिंसा भएको थियो । यो संख्या आर्थिक वर्ष २०७७/०७८ मा १८६ जना मानिस घरेलु हिंसाबाट पिडित भएको पाइएको छ ।

यस्तै सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०७६/०७७ मा ९९ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ९८ वटा घरेलु हिंसा भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेशको हिमाली जिल्ला मानिने दोलखामा आर्थिक वर्ष २०७६/०७७ मा ५० वटा र आर्थिक वर्ष २०७७/०७८ मा ५६ वटा घरेलु हिंसाको उजुरी प्रहरी समक्ष दर्ता भयो । यसैगरि रामेछाप जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ३७ वटा घरेलु हिंसा भएको पाइएको छ भने आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या घटेको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लामा २७ जना मानिस घरेलु हिंसा भएको भन्दै प्रहरी सम्म पुगेका थिए ।

यस्तै सिन्धुलीमा आर्थिक वर्ष २०७६/०७७ मा ६८ र २०७७/०७८ मा ६४ घरेलु हिंसा भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अधिकांश घटनामा मिलापत्र
दुई वर्षमा २ हजार २ सय ५२ जना पिडित प्रहरी समक्ष पुगेकामा १ हजार ५४४ घटनामा मिलापत्र गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ८०६ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ७३८ वटा मिलापत्र गरिएको प्रहरीको तथ्यांक छ । यसैगरि २०७६/०७७ मा ८७ जना सम्बन्धित निकाय गएका प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

१९ जना पिडित सम्पर्क मै आएनन्
घटना भैसकेपछि प्रहरीमा पुगेका पिडितहरु सम्पर्क बाहिर रहनेको संख्या पनि धेरै छ । २ हजार २ सय ५२ जना पिडितमध्ये ११९ जना प्रहरीको सम्पर्क बाहिरै छन् ।
कुल मुद्धामा अव ३६१ मुद्धाको प्रक्रिया अघि बढेको जनाइएको छ ।

तथ्यांक हेरौँ ।

बागमती प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक.