हेटौंडा, १४ भदौ । लगातारको भदौरे झरीका कारण पछिल्लो तीन दिनमा बाढी र पहिरोमा परेर ९ जनाको ज्यान गएको छ । मनसुनजन्य घटनामा परि देशभर करिब चार हजार पाँच सय घर डुवानमा परेको र ९० हजार भन्दा बढी जनसंख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यसैगरी चार जना वेपत्ता र पाँच जना घाइते भएका छन् । बाढी पहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुकका साथै ७ सय ५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ ।

प्राधिकरणका अनुसार देशका पहाडी र तराई क्षेत्रमा दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । सडक विभागले अवरुद्ध सडक खुलाउन २ सय ५ वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको जानकारी दिनुभयो । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् ।