हेटौंडा, १४ भदौ । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर यस वर्ष पनि आज नखोलिने भएको छ । मकवानपुर गढीमा रहेको वंश गोपाल कृष्ण मन्दिर,हेटौंडाको पिपलबोट , कुष्माण्ड सरोवरलगायतका स्थनमा रहेका राधाकृष्ण मन्दिरमा भक्तजनको घुंइचो लाग्ने छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । कृष्ण अष्टमीको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।