हेटौडा, १३ भदौ । मिर्गौला प्रत्यारोपण गरेर पूर्वप्रधानमन्त्री झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किदै छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली जानुभएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उहा भोलि दिउँसो स्वदेश फर्किन लाग्नुभयको हो। खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल दिल्ली जाने बेलामा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको थियो। जाने दिन विज्ञप्ति जारी गर्दै खनालले पार्टी एकताका लागि आह्वान गरेपनि नयाँ दिल्लीबाटै उहाले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा राजदूतावासमार्फत् सनाखत गर्नुभयको थियो ।