हेटौंडा, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नुभएको छ ।
अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क गर्नुभयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नुभयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्याउनु भयो । एक-दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।