हेटौंडा, १२ भदौ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गर्नु भएको छ ।

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा समेत गर्नुभयो । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।