बागमती प्रदेशमा अष्टलक्ष्मी नेतृत्वको सरकार छिट्टै ढल्ने राजेन्द्र पाण्डेको भनाई
हेटौडा,१२ भदौ । नवगठित नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्ने दाबी गर्नु भयको छ ।
एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । सांसद पाण्डेले दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो । ‘हामीले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । विश्वासको मत लिनुपर्ने हुन्छ उहाले भन्नुभयो । शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिने र एमालेमै रहेको खण्डमा नयाँ सरकार गठनका लागि कसरत गरिने उहाले बताउनुभयो।
उहाले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रुपमा हटाइने बताउनुभयो । ‘हामीसँग प्रदेशसभाका २१ जना सदस्य छन् । अझै थप्ने कोसिस गरिरहेका छौं । यो सरकार ढल्छ । अष्टलक्ष्मीलाई बिदाइ गरिन्छ । हामी गठबन्धनमा रहेका तीनवटा पार्टी मिलेर नयाँ सरकार बनाउँछौं उहाले भन्नुभयो । उहाले माओवादी र कांग्रेससँग छलफल गरेर कसको नेतृत्वमा प्रदेश सरकारमा जाने तय गरिने बताउनुभयो ।
१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादी मा खुलिसकेका कारण शाक्यले अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । वाग्मतीमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।