हेटौंडा, १२ भदौ । मनसुन सुरु भएयता (गएको जेठ ३१ पछि) देशभर मनसुनजन्य घटनामा ८५ जनाको ज्यान गएको छ । ती घटनामा परेर अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार पाँच सय जनाभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रवार बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उहाँले अहिलेसम्म विपद्बबाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो ।

शुक्रवार मात्रै बाढीबाट चार सय जना प्रभावित भएका र उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । तीन जनाको ज्यान गएको छ र तीन जना बेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।