हेटौंडा, १० भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दुवै दललाई निर्वाचन आयोगले बुधवार बेलुका दर्ता भएको प्रमाणपत्र दिएको हो । योसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् ।
सरकाले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था छ ।
बुधवार नै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएको निवेदनमा नेताहरूलाई सनाखतका लागि बोलाएको थियो ।
नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पुर्याउन सकेन । दल दर्ताका लागि एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । यो कुल सङ्ख्याको १९ दशमलव ४८ प्रतिशत हो ।
यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ४० प्रतिशत हो ।

