हेटौडा, ९ भदौ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ती जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।
लिसंखुपाखरबाट काठमाडौंजादै गरेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका–३ छापगाउँमा दुर्घटना भएको हो । ब्रेकमा समस्या आएपछि यात्रु ओरालेर परीक्षण गरी पुनः यात्रु चढाएपछि बस दुर्घटना भएको घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले जानकारी दिनुभयो ।
बस दुर्घटना हुन लागेको देखेपछि भाग्न लाग्दा दुई जनालाई बसले किचेर घटनास्थलमै मृत्यु भएको उहाँको भनाइ छ । अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यद्यपि प्रहरीले भने अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन । प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेको जानकारी दिनुभयो ।
घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।