हेटौँडा, ८ भदौ । मकवानपुरको मनहरी गाउँपालिका अनेक चर्चामा रहिरहन्छ, खासगरी अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्टबीचको असहमतिका कारण मकवानपुरको राजनीतिक दल, गृहप्रशासन, व्यापारी–व्यवसायी र मनहरीबासीमा समेत अध्यक्ष र उपाध्यक्षबीचको असहमतिले गजबसँग ‘कनेक्सन’ जोडिरहेको छ । काममा बाधा पुगिरहेको छ ।

अध्यक्ष उप्रेती पक्षधर कर्मचारी र उपाध्यक्ष पक्षधर कर्मचारी भनेर कर्मचारी विभाजित हुँदा सेवाग्राही मारमा परेका छन् । यो समेत प्रश्न उठेका छन् कि, अध्यक्ष र उपाध्यक्ष पक्षधर कर्मचारीको गाउँपालिका आएपछिको सम्पत्ति विवरणसमेत खोज्न नागरिक समाजले आवाज उठाएका छन् ।

पछिल्लो समय उपाध्यक्ष विष्टले दार्जिलिङबाट नाबालक छोरा खोज्दै मनहरीको हाँडिखोला आएकी एक महिलालाई आश्रयघरमा राख्न ताला फोडेको समाचार अध्यक्ष उप्रेतीको सचिवालयले आफू अनुकुलका मिडियामा वितरण गरेपछि अध्यक्ष उप्रेतीमाथि कयौँ संगीन आरोपहरु लागेका छन् । ती आरोपहरुका कारण यतिखेर अध्यक्ष उप्रेती बसिसुख न उठिसुखले छटपठाउनु भएको पनि देखिन्छ ।

आफू अनुकुलका पत्रकार बोलाएर नाम नतोकी उहाँले मनहरीबाट पत्रकारिता गरिरहेकाहरुलाई पनि आफूमाथि असहयोग भएको बताउनु भएको सुनिएको छ । उहाँको पत्रकार सम्मेलनमा के के भयो, आगामी शृंखलाहरुमा चर्चा गरौँला, यो शृंखलामा भने एउटा गम्भीर आरोप लागेको छ कि, अध्यक्ष उप्रेतीबाटै उपाध्यक्ष विष्टको ज्यान खतरामा छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष विष्टले लगाउनु भएको आठ आरोपहरु यस्ता छन्ः

१. व्यक्तिगत जीवनमा हस्तक्षेप गरी चरित्र हत्या हुने व्यवहारहरु सार्वजनिक स्थलमा गरिएको छ ।

२. मेरो जिम्मेवारीमा बाधा पुर्याउने काम भएको छ । उपाध्यक्ष संयोजक भएका सबै समितिहरुको काममा हस्तक्षेप भएका छन् ।
३. कार्यपालिका बैठक, खाजा खाने होटल, सार्वजनिक ठाउँमा गाली बेइज्जती, अमानवीय कार्य भएका छन् ।
४. गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षकलाई होटलमा बोलाई जातीय विभेद हुने व्यवहार गरिएको छ । गाउँ कार्यपालिकाको बैठकमा ‘बानी सुधार, नत्र दुर्घटना हुनसक्छ’ भन्ने चेतावनी दिइएको छ । यस्ता घटनालाई अध्यक्षले ढाकछोप गर्नु भएको छ ।
५. प्रशासनिक कर्मचारी हुँदाहुँदै प्राविधिक कर्मचारीलाई वडामा लगेर बदमासी गरिएको छ ।
६. उपाध्यक्ष संयोजक रहेको आश्रयघरको साँचो अध्यक्ष एकराज उप्रेतीले पालेलाई धम्क्याएर खोसेर लैजानुभयो । सिडिओलाई जानकारी गराएर ताला फोरेको हुँ ।
७. उच्च अदालतले फैसला गरेर गाउँपालिका फर्काएपछि मेरो विरुद्ध अमानवीय व्यवहार हुँदै आएको छ ।
८. मेरो जिम्मेवारी धेरै हुँदाहुँदै पनि म असुरक्षित छु, पाइलापाइलामा जोखिम छन् । आगामी दिनमा ममाथि जुनसुकै घटना हुने संकेत उहाँहरुले गरिरहनु भएको छ । ज्यान सुरक्षाका लागि अपिल गर्न चाहन्छु ।
मनहरी गाउँपालिकाको अन्य प्रकरणहरु हामी आगामी दिनमा निरन्तर उजागर गर्नेछौँ । भिडियो हेर्नुहोस्ः