हेटौंडा, ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ ।
चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको आरोपसमेत लगाउनुभयो ।
अर्काे फरक प्रसंगमा अध्यक्ष नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताउनुभयो । उहाँले आफ्नै चाहना र सुझावअनुसार शाक्य मुख्यमन्त्रीमा गएको दाबी गर्नुभयो । पार्टी दर्ता भएको २१ दिनभित्र उहाँहरूलाई पार्टी रोज्ने अधिकार रहेको भन्दै अध्यक्ष नेपालले शाक्य अप्ठेरोमा परेको बताउनुभयो ।
बुधबार निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) लाई पार्टी दर्ताका लागि सनाखत गर्न सशरीर उपस्थित हुन बोलाएको छ ।