हेटौंडा, ८ भदौ । नेकपा एमालेले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो ।

पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरु पनि एमालेमै फर्किएका छन् ।

आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका थिए ।

बैठकले सबैलाई मूल पार्टीमै फर्कन आग्रह गरेको र पार्टीमा फर्कनेहरूलाई कुनै कारबाही नहुने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।