हेटौंडा, ८ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै भारतबाट नै मूल्य बढेर आएको जनाउँदै पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २ रुपैँयाका दरले बढाएको हो ।
नयाँ कायम मूल्य अनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ ।
यसैगरि अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाउँदै प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम भएको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ ।
नयाँ मूल्य सूची अनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५० रुपैँया कायम भएको छ ।