–राधा सुवेदी
आधा मुटु दिईसकेँ मान्दैन अझै प्यार जस्तो
लाग्दैछ यो जिन्दगी मलाई खाली निधार जस्तो
मजेत्रोमा सातु मागेर हुर्काएकी हुन् छोरो
बिहेपछि हुन्न किन आमाको अधिकार जस्तो
प्रशंसा पनि मन खोलेर गरौन गरेपछि
नहोस् कहिले राखेको भुँड्काको अचारजस्तो
कुनै विष्फोटक बस्तु राखिए छ जङ्गलमा
बाघले हेरिरह्यो ठानेर आफ्नो शिकारजस्तो
चलेन गोली लागेको छैन चोट नसम्झिनु
नजरले पनि दिल हुन्छ यहाँ बिमार जस्तो ।