हेटौँडा, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिलेसम्मकै अप्ठेरो अवस्थामा पुगेको स्वीकार्नु भएको छ ।
सोमबार ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा नलागी एकताका लागि दबाब दिइरहेको समूहसँगको छलफलमा अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी निकै संकटमा छ, अप्ठेरो अवस्थामा पुग्यो, यो अवस्थामा पुग्न ककसको हात रह्यो, समीक्षा गरौँला, तर अप्ठेरोमा पार्टी परेकै हो ।’

दोस्रो पुस्ताका नेताहरु अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, घनश्याम भूषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसँगको भेटमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन र थप छलफलका लागि स्थायी कमिटी बैठक बोलाउन तयार भएको छलफलपछि नेताहरुले बताए ।

आज ओली सकारात्मक हुनुहुन्थ्योः पाण्डे
अध्यक्ष ओलीसँग भेट गरेर फर्कनुभएपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले शक्तिखबरसँग प्रतिक्रिया दिँदै भन्नु भयो, ‘आजको छलफलमा अध्यक्षज्यू नम्ररुपमा प्रस्तुत हुनुभयो, सकारात्मक पाएँ ।’

कारबाही प्रक्रिया फिर्ता, माधवकुमार नेपाललाई ससम्मान स्वीकारबारे अध्यक्षज्यू सकारात्मक हुने पाउनु भएको छ भन्ने जिज्ञासामा नेता पाण्डेले भन्नु भयो, ‘संकटमा पार्टी पुगेको छ, यो अवस्थामा के गर्न सकिन्छ, मिलेर जाउँ भन्ने नै अध्यक्षज्यूको आसय छ, आज अध्यक्षज्यूले निकै गम्भीरता देखाउनु भएको पाएँ ।’

भूमिका, जिम्मेवारी, कारबाहीलगायतका विषय बैठकमा छलफलको विषय बन्ने नेता पाण्डेको तर्क थियो ।

राष्ट्रपति–नेपाल भेट
सोमबार दिउँसो १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति विद्या भण्डारीले एमाले वरिष्ठ नेता तथा नयाँ पार्टी गठनमा लाग्नु भएका माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको छ । भेटमा पार्टीमा एकताका विषयमा छलफल भएको अनुमान गरिएको छ । निकै समय लिएर भएको भेटमा नेता नेपालले ओलीका कमजोरीमा राष्ट्रपतिको पनि लगातार साथको विषयमा पनि सुझाउनु भएको बताइएको छ । राष्ट्रपतिले भने मिलनविन्दु खोज्न र अबको नेतृत्व फेरि पनि तपाईं नै भएको भन्दै फकाउन खोज्नु भएको बताइएको छ ।

के हो त फण्डा ?
भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वको पार्टी दर्ताका लागि आवश्यक हस्ताक्षर नपु¥याउन सकिन्छ कि भन्ने भित्री मक्सदमा सबै जोरजाम भइरहेको नेपाल पक्षधर नेताहरुको बुझाइ छ । वामदेव गौतम पक्षधरका नेताहरुलाई फकाउने काममा पनि अध्यक्ष पक्षधर लागेकै छन् । यता दोस्रो पुस्ताका नेताहरुले अहिलेसम्मको छलफलमा एमाले मिल्यो, एकता भयो भने पनि उनीहरुको कुरा मात्र अध्यक्ष ओलीले सुनेका हुन्, अध्यक्ष ओली माधवकुमार नेपालको अस्तित्व स्वीकार्ने पक्षमा पुगिसकेका छैनन् ।

बरु, फकाएर, धम्काएर, अनेक आसा देखाएर माधव नेपालको पार्टी दर्तामा आवश्यक हस्ताक्षर पनि नपुर्याउन पाए नेपाल सडकमै पुग्ने आँकलनसहित अनेक तिकडम भइरहेका छन् । नेपाल पक्षमा लागेकाहरुलाई पिलो भनेका केपी ओलीले सहजै पार्टी एकताका कुरा गरे भनेर दोस्रो पुस्ताका नेताहरुले भने पनि उनीहरुका हकमा मात्रै हो, माधवकुमार नेपालका हकमा होइन भन्ने एउटै घटना काफी छ । त्यो हो, डा. भीम रावलदेखि विष्णु रिजालसम्मले पार्टीमा दुई अध्यक्ष हुने र माधवकुमार नेपालको हस्ताक्षर पनि हुने भन्ने सञ्चार गरेका थिए, तर त्यो विषय ओलीसँग दोस्रो पुस्ताले नराखेको त्यतिखेर पुष्टि भयो, जब ओलीले यो कुरा इन्कार गरे र दोस्रो पुस्ताका नेताहरुले माधवकुमार नेपालसँग आएर भने, ‘कमरेड, अहिलेलाई बैठकमा जाउँ, अनि हस्ताक्षरको कुरा बैठकमै उठाउँला ।’ त्यसपछि माधवकुमार नेपाल पनि दोस्रो पुस्तासँग हच्किन पुग्नु भयो ।