हेटौंडा, ७ भदौ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको समर्थनमा गत बुधबार बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्ठलक्ष्मी शाक्यलाई एमाले विभाजनका कारण सुरुमै अप्ठेरो अवस्था आइपरेको छ । उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने अवस्था देखिएको छ । मुख्यमन्त्री शाक्यमाथि अहिले नेपाल नेतृत्वका दलका सांसद र नेताहरूले आफ्नो पक्षमा खुल्न दबाब दिइरहेका छन् । बागमती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेको दाबी नेपाल पक्षको छ । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हो । कान्तिपुरबाट