माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टी अहिले संगठन विस्तार अभियानमा जुटेको छ । एकीकृत समाजवादी पार्टी पक्षधर नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा भेला, बैठक र संगठन विस्तारको कामलाई तीब्रता दिन थालेका छन् ।
यसै क्रममा हिजो अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा भेला आयोजना गरिएको छ । त्यस्तै नेपाल पक्षमा लागेका काठमाडौँ ८ का सांसद जीवनराम श्रेष्ठले पनि आफ्नो क्षेत्रमा संगठन विस्तारको कामलाई अघि बढाउनुभएको छ । उहाँले पनि हिजै शनिबार भेला राखेर नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । ओलीलाई साथ दिँदै आएर पछिल्लो समय नेता नेपालसँग पार्टी विभाजको कित्तामा उभिनुभएका तनहुँका सांसद किसान श्रेष्ठ पनि जिल्ला पुगेर पार्टी निर्माणमा जुट्नुभएको छ । उहाँले पनि जिल्ला स्तरीय भेला राखेर वडा स्तरमा संगठन बनाउन आग्रह गर्नुभयो ।
यता मकवानपुर जिल्लामा भने केही दिनभित्रैमा भेलाको आयोजना गर्ने तयारी गरिएको नेताहरुले बताएका छन् ।