हेटौंडा, ६ भदौ

हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ।

जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ।यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्।

यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए।

उनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ।

यता धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेका छन् ।

प्रशासनले कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेका हुन् ।