बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाइँले सपथ ग्रहण गराउनुभएको छ । आज बेलुका भएको सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल पनि सहभागी हुनुभएको थियो ।
डोरमणि पौडेलले आजै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो ।
केन्द्रमा नेकपा एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि बागमती प्रदेशको राजनीति घटनाक्रम फेरबदल भएको हो । आजै दिउसो बसेको एमाले संसदीय दलको बैठकमाा डोरमणि पौडेलले राजीनामा दिनुभएको थियो र शाक्यलाई संसदीय दलको नेता बनाइएको थियो ।
आफ्नो पाँच वर्षको कार्यकाल सकिन डेढ वर्ष बाँकी रहेको अवस्थामा नेकपा एमालेको राष्ट्रिय राजनीतिमा आएको फुटको कारण मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो ।
आज भएको संसदीय दलको बैठकमा उहाँले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेता चयन गरिएको हो ।
मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुखले आजै बेलुका सपथ गराउनुभएको छ । उहाँले डोरमणि पौडेलले दिएको राजीनामा पनि स्वीकृत गर्नुभयो ।
राजीनामाअघि पौडेल अन्तिम क्याबिनेट बैठकमा सहभागी हुनुभएको थियो ।