हेटौंडा, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आजबाट सुरु भएकोे छ । माओवादी केन्द्र भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो ।

पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।

अध्यक्ष दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।

सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल सुरु गरेको र ती समूहहरुका निष्कर्ष आइतबार बिहान ११ बजे बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुनेछ ।