हेटौंडा, ३० साउन । यतिबेला नेकपा एमाले दुई धारमा छ । पार्टी अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समुह दुई कित्तामा विभाजनको सञ्घारमा पुगेको छ । दुबै खेमा छुट्टाछुट्टै भेला, सभा गर्न लागि परेको छ भने एक अर्कामा आरोप- प्रत्यारोपमा उत्रने गरेको छ ।

यसैबिच आज नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताउनुभएको छ । आज बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताउनुभयो ।

ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उहाँको भनाई छ । उहाँले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गर्नुभयो ।