हेटौंडा, २९ साउन । मकवानपुरको मनहरी गाउँपालिकामा म्याद गुज्रिएको पोषण पिठो बरामद भएको छ । कुपोषणबाट बचाउन चेपाङ, दलित तथा जनजाति बालबालिकालाई वितरण गर्न ल्याएको पिठो म्याद गुज्रिएको अवस्थामा नेकपा माओवादी केन्द्र (वाइसीएल)ले आज बरामद गरेको हो ।

वाइसीएलले ३९ वटा बोरामा रहेको एक हजार १७० किलो पोषण पिठो बरामद जनाएको छ ।

वाइसीएल मनहरी गाउँपालिकाका अध्यक्ष कृष्ण रुम्बा झाँक्रीको नेतृत्व तथा वाईसिएल प्रदेश कमिटी सदस्य किरण मुक्तान, जिल्ला सचिवालय सदस्य दिपेन्द्र अधिकारी, वाइसीएल गाउँपालिका उपाध्यक्ष ऋषी बर्तौला, नेता इश्वर थापा लगायतको टोलीले म्याद गुज्रिएको पोषण पिठो बरामद गरेको हो ।

वाइसीएल पालिका अध्यक्ष झाँक्रीले ‘गाउँपालिकाले चरम लापरबाही गरेको बताउनुभयो । उहाँले यस विषयमा सत्यतथ्य छानविन गरि कारबाही नभए वाइसीएलले नै कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।