हेटौँडा, २९ साउन ।

हेटौँडा ६ चौघडा निवासी सरोज लामिछाने र अम्बिका ढकाल लामिछोनेले व्यक्तिगत खर्चमा चौघडामा रहेको रक्षादेवी मन्दिरमा शिवलिङ्गको मूर्ति स्थापना गर्नुभएको छ । 
३१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको शिवलिङ्गको सो मूर्ति नाग पञ्चमीको अवसरमा  प्राण प्रतिष्ठासहित आज मन्दिरमा स्थापना गरिएको हो । हजुरबा अमृतनाथ लामिछानेको स्मृतिमा स्थापित मूर्तिको हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले अनावरण गर्नुभयो । 


सो अवसरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँ, वडा नम्बर ६ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष केशव धिताल, मन्दिर व्यवस्थापन समितिका सचिव राजकुमार फुयाँललगायतको उपस्थिति रहेको थियो ।


मन्दिरमा मूर्ति स्थापना भएपछि मन्दिर व्यवस्थापन समितिका सचिव राजकुमार फुयाँलले खुसी व्यक्त गर्दै शिवलिङ्गको मूर्ति स्थापना गर्ने लामिछाने परिवारप्रति आभार प्रकट गर्नुभएको छ । 
२०५५ सालमा स्थापना भएको रक्षादेवी मन्दिरमा देवी तथा मन्दिर परिसरमा पाथीभराको मूर्ति यसअघि नै स्थापना भइसकेको छ ।
आज स्थापित शिवलिङ्गको मूर्ति  हेटौंडा १८ फुर्केचौर निवासी राष्ट्रिय मूर्तिकार ओम भण्डारीले एउटै ढुङ्गाबाट निर्माण गर्नुभएको हो । उहाँले यसअघि विभिन्न स्थानहरूमा  महाकवि लक्ष्मीप्रसाद देवकोटा, गणेश, गाईलगायत मूर्त तथा अमूर्त मूर्तिहरू निर्माण गरिसक्नुभएको छ ।
आफ्नो समाजिक उत्तरदायित्व तथा धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सो मूर्ति स्थापना गरिएको लामिछाने परिवारले बताएको छ ।