हेटौंडा, २९ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनामा मन्त्रीपरिषद्लाई पूर्णता दिन भने सक्नुभएको छैन ।
कांग्रेसका २ र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकार चलाईरहनु भएका प्रधानमन्त्री देउवा एक्लैले १७ वटा मन्त्रालयको भारी बोक्नुपरेको छ ।
सत्ता गठबन्धनको सहयात्री एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको दाबी गरिएको छ । तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।
अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४ औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा हुनुहन्छ ।