हेटौँडा, २८ साउन । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले ड्युटीमा रहेका आफ्ना प्रहरी निरीक्षक (इन्स्पेक्टर)माथि दुर्व्यवहार गर्ने युवालाई म्याद थपेर कारबाही भइरहेको बताउनु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानियाँलाई एसपीले दुर्व्यवहार गरेको समाचार बाहिर आएपछि शक्तिखबरसँग प्रतिक्रिया दिँदै राठौरले भन्नु भयो, ‘लकडाउनका बेला पसल खोल्नेहरुलाई नियन्त्रणमा लिएर आउने क्रममा मेरो अधिकृतलाई सहायक सिडिओकै अगाडि दुर्व्यवहार भयो, उनलाई कारबाही नगर्दा मैले कसरी प्रहरी शक्ति परिचालन गर्छु, दुर्व्यवहार गर्नेलाई छाड् भन्न वडाध्यक्षज्यू आउनु भएको रहेछ ।’
एसपी राठौरले लकडाउनका बेला पसल खोल्ने ३५ जनालाई नियन्त्रणमा लिएर ल्याउने क्रममा मकवानपुरका सहायक सिडिओ पनि रहनु भएको र उहाँकै अगाडि ड्युटीमा रहेका इन्स्पेक्टर अविनाश अधिकारीलाई नियन्त्रणमा लिइएका मध्ये सुजन बुढाथोकीले दुर्व्यवहार गरेको बताउनु भयो ।
नियन्त्रणमा लिइएका सबैलाई छाडिए पनि बुढाथोकीलाई म्याद थपेर कारबाही अगाडि बढाइएको छ ।
हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँ जिल्ला प्रहरी कार्यालय पुग्दा एसपी राठौरले नियम मिच्नेहरुलाई छुटाउन आउने भन्दै अभद्र तरिकाले उत्रिएको वडाध्यक्ष बानियाँको भनाइ छ । हेटौँडाका केही सञ्चार माध्यमहरुले लेखेका छन्, ‘एसपीले गृहमन्त्री तपाईंको पार्टीका छन् भन्दैमा दबाब दिने, म पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेको सुरक्षा अधिकारी हुँ भन्दै वडाध्यक्ष बानियाँलाई अभद्र व्यवहार गरे ।’
एसपी राठौरको प्रतिक्रिया छ, ‘सहायक सिडिओकै अगाडि भएको दुर्व्यवहारलाई अपराध नमान्ने, छाड्ने हो भने मैले अब कसरी काम लगाउन सक्छु, कसरी मेरा सहकर्मी फिल्डमा पठाउन सक्छु, प्रहरीले अपमान, दुर्व्यवहार सहेर ‘हस हजुर’ भन्न मिल्दैन, काम गर्दा यस्ता छिनाझप्टी भइरहन्छन् ।’