हेटौंडा, २७ साउन । नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको दुई डोज नै खोप लगाइ सकिएको छ ।

१५ प्रतिशतलाई भने पहिलो डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

कोभिशिल्डको पहिलो मात्रा लगाएका १८ लाख ६८ हजार ४ सय २५ जनामध्ये ५ लाख ९७ हजार ८ सय १९ जनाले दोस्रो मात्रा पुरा गरेका हुन् ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाएका २७ लाख २ हजार १ सय २८ जना मध्ये १८ लाख ३ हजार ४ सय ३ जनाले दोस्रो मात्रा पुरा गरेका छन् ।

देशभर १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सनको खोप लगाएका छन् । सरकारले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

नेपालमा कोरोेना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।