हेटौंडा, २७ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशका प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न भोलि अपराह्न ३ बजेसम्मको समयसीमा तोक्नुभएको छ ।
अल्पमतमा परेपछि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गर्नुभएको हो । आजै मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । आजको विशेष अधिवेशन बस्नु अघि पोखरेलले राजीनामा दिनुभएको थियो ।
अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ ।
शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् ।
प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वोच्चले सदर गरीदिएपछि प्रदेश सभा ८० सदस्यीय बनेको हो । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।
यता सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।