हेटौंडा, २७ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाउनुभएका कुलमान घिसिङले आजदेखि जिम्मेवारी सम्हाल्नु भएको छ ।
चार वर्षे कार्यकाल पूरा गरी गत भदौमा अवकाश लिनु भएका घिसिङलाई गत सोमबारको मन्त्रिपरिषद् वैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणमा खाईपाई आएको सुविधा दिनेगरी जल तथा ऊर्जा आयोगमा पठाएर घिसिङलाई नियुक्त गरेको हो ।
शाक्यले हिजोबाटै प्राधिकरणबाट विदा लिईसक्नु भएको छ । अघिल्लो कार्यकालमा देशलाई लोडसेडिङ मुक्त गर्न सफल भएपछि घिसिङको लोकप्रियता बढेको थियो भने उहाँले विद्युत् प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पु¥याउनु भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालको ठूलो चुनौती स्वीकारेर आएको बताउनुभएको छ । प्राधिकरणमा आज कार्यभार सम्हाल्ने क्रममा कार्यकारी निर्देशक घिसिङले फेरि एकपटक ’रिस्क’ लिएको बताउनुभएको हो । प्राधिकरणको चुनौती एक्लैले मोल्न सक्ने अवस्था नरहेको भन्दै घिसिङले टिमवर्कमा जोखिम मोल्नु पर्नेमा जोड दिनुभयो ।
अबका दिनमा अगाडि कसरी बढ्ने, प्राधिकरणको हाइट कसरी माथि लाने भन्ने कुरामा केन्द्रित हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । आफू के–के न गर्ने योजनासहित नआएको भन्दै उनले सुशासन र गुणस्तरीय सेवा प्रवाह प्रमुख रुपमा अगाडि लैजाने, सरकारले उर्जा क्षेत्रमा दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणको चर्चा विश्वमै रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले उपलब्धिको श्रेय आफूहरुले मात्रै नलिने बताउनुभयो ।