स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मकवानपुरमा थप ५० हजार डोज कोरोनाविरुद्धको खोप पठाउने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँसहितको टोलीसँगको भेटघाटका क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । 

भेटमा २० दिनभित्र मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप पठाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको बानियाँले जानकारी दिनुभयो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसंग टेलिफोनमार्फत खोपको अवस्थाबारे जानकारी लिंदा जिल्लामा १ लाख डोज खोप आवश्यक रहेको जानकारी प्राप्त भएको बताउँदै बानियाँले तत्काल पहिलो चरणमा ५० हजार डोज व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको जनाउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाल आइपुगेको खोप केन्द्रमा भण्डारण गरेर नराखी चाँडोभन्दा चाँडो जिल्लामा पठाउने काम भइरहेको बताउँदै सुझाव अनुसार अघि बढ्ने बताउनुभएको थियो।

छलफलमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान, नेता राजेन्द्र घिसिङ लगायतको सहभागिता रहेको थियो ।