हेटौंडा, २५ साउन । मकवानपुरमा कोरोना संक्रमणदरमा वृद्धी भएपछि निषेधाज्ञाको अवधि पुनः थप गरिएको छ । जारी निषेधाज्ञाको अवधि गएराती देखि एक साता थपिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि आजबाट निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने जनाएको छ । अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको र पसल व्यवसाय संचालन गर्ने अवधि भने घटाइएको छ ।

यसअघि प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न पाइनेछ भने, अन्य व्यवसाय मध्याह्न १२ बजे देखी दिउँसो ४ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

यस्तै आजबाट सवारी साधनमा जोर-विजोर प्रणाली कायम गरिएको छ । जिल्लाभित्र चल्ने नीजि तथा सार्वजनिक सवारीमा जोर-विजोर प्रणाली लागू गरिएको हो ।
यसैगरि माक्स नलगाई हिड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गराउने तयारी पनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।