हेटौंडा, २५ साउन । कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ । प्रदेश–१ र प्रदेश–२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि प्रदेश–१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाईमा बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।
गत फागुन अन्तिम साता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।
खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ ।