हेटौंडा, २३ साउन ।
देशकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र कुष्माण्ड सरोवर त्रिवेणीधाममा पछिल्लो समय चोरी हुने क्रम बढेको छ । पछिल्लो समय मन्दिर परिसरबाट दस हजारभन्दा बढी पैसा चोरी भएको छ ।
धाममा साउन महिनापछि मात्रै दानपेटिका र दानपेटिकाभित्र रहेको पैसा पटकपटक चोरी भएको छ । धाम परिसरमा रहेका विभन्न देवीदेवताका मन्दिरमा राखिएका दानपेटिकाका पैसा र दान पेटिका नै चोरी भएका हुन् ।
शुक्रबार गणेश मन्दिरमा राखिएको दान पेटिकामा जम्मा भएको ६ हजार रुपियाँ हराएको त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो । शुक्रबार बिहान १० बजेपछि मन्दिरका पुजारीहरू खाना खान घर गएको समयमा गणेश मन्दिरमा राखिएको दान पेटिका फुटाएर त्यहाँभित्र राखिएको पैसा चोरिएको थियो ।
पैसा चोरीका सम्बन्धमा प्रहरीमा उजुरी गरिएको र खोजी कार्य जारी रहेको बताइएको छ । केही दिनअघि राधाकृष्ण मन्दिरमा रखिएको दान पेटिका नै चोरी भएको थियो । दानपेटिकामा ५ हजारभन्दा बढी रुपियाँ रहेको हुनसक्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
हरेक महिनाको मसान्तका दिन दानपेटिकाको पैसा निकाल्ने गरेकामा यसपटक भने निषेधाज्ञाका कारण दर्शनार्थीहरू धेरै नआएको भन्दै वैशाखदेखि पैसा निकालिएको थिएन ।
धाम परिसरमा विभिन्न मन्दिरमा गरेर ९ ओटा दानपेटिएका राखिएका छन् । सबै दानपेटिकामा गरेर मासिक १५ हजारभन्दा बढी रकम हुने गरेको र सोही रकमबाट मन्दिरको आन्तरिक व्यवस्थापन गर्ने गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
मन्दिरमा अहिले ४ जना पुजारी, २ जना सरसफाइ तथा फुलबारीमा काम गर्ने कर्मचारी कार्यरत छन् ।