हेटौंडा, २३ साउन । हेटौँडा अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा सञ्चालक समिति सदस्य हिरा वाइबा पक्राउ परेका छन् ।

वाइबामाथि महिला चिकित्सकलाई वनभोज गएका बेला अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

आरोपी वाइबालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । १६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले वनभोज कार्यक्रममा मादक पदार्थ सेवन गरेर वाइवाले महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुर प्रहरीमा उजुरी परेको थियो ।

अभद्र व्यवहार गर्ने वाइबामाथि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राठोरले बताउनुभयो ।