फाइल तस्विर


हेटौंडा, २० साउन । सत्ता गठबन्धनले सरकारका साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी गरेको छ । यसैका लागि गठबन्धको संयुक्त बैठक आज पनि बस्दै छ ।

हिजो दुई पटक बसेको बैठकले अन्तिम रूप दिन नसकेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज भने अन्तिम रुप दिने प्रयासमा सत्तापक्षीय कार्यदल जुटेको छ ।

अहिले बिहान बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ ।
कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ ।

हिजो बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन ।

सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।
कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु छन् ।