हेटौंडा, १७ साउन । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई गए रातिदेखिको बाढीले थप तहसनहस पारेको छ । गत असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पु¥याएको ४७ दिनपछि स्थानियहरुलाई पुनः विस्थापित बनाएको छ ।
शनिबार रातीको बाढीका कारण २० वटा घर बगाएको छ भने दुई वटा पुल पनि बगाएको छ । चनौटेमा रहेको रातोपुल र एउटा झोलुंगे पुल आज बिहान बाढीले बगाएको हो ।
बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन भवनसमेत बगाएको छ । रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदिले शक्तिखवर डटकमसँग कुराकानी गर्दै “गत असार १ गतेको बाढीका कारण रेडियो मेलम्चिको भवन डुवानमा पर्यो त्यसपछि असार ४ गतेबाट रेडियो प्रसारण निरन्तर भइरहेको” बताउनुभयो ।
उहाँका अनुसार चनौटेमा रहेको रातोपुल बगाएको छ । मेलम्ची ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ । सुवेदिको अनुसार ग्याल्थुमको एउटा झोलुंगे पुल बगाएको छ भने अन्य दुई वटा झोलुङ्गे पुल जोखिममा छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् ।