हेटौँडा, १७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिजुलीको पोलसहित ७ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ हात्तिढुंगेस्थित बाटोको छेउमा राखिएको फलामको २७ थान बिजुलीको पोल चोरी गरेर फरार ७ जना पक्राउ परेका हुन् । धरान चतरा सडकखण्डस्थित बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेबाट बिजुलीको पोल लोड गरेको मे १ ख २५०३ नम्बरको ट्रक र अन टेस्ट मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक तथा प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।

ट्रक चालक, काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नम्बर १ का ३० बर्षीय जयराम सापकोटा, ट्रकमा सवार उदयपुर घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बस्ने ३१ बर्षीय विवेक पोखरेल, संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ७ का २७ बर्षिय हरी नेपाल, मकवानपुर बागमती गाउँपालिका वडा नम्बर ७ का ३० बर्षीय सुरेश लामा, २२ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।

त्यस्तै, मोटरसाइकल चालक र सवार रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय धनबहादुर लामा र ४० वर्षीय देव पौडेल पनि पक्राउ परेका छन् । उनीहरुले बिजुलीको पोल चोरेर काभ्रे लैजान लागेको सूचना पाएपछि वाइसिएल बागमती गाउँपालिकाको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।