हेटौंडा, १४ साउन । मकवानपुरमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्ययल मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जारी निषेधाज्ञालाई साउन २४ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

जिल्लामा ५ सय बढि सक्रिय संक्रमित उपचाररत रहेको र संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा लम्बाइएको बताइएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज साउन १४ गते सकिँदै थियो ।

जिल्ला प्रशासनले निषेधज्ञाको समयमा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न दिएको अनुमति यथावत् रहने जनाएको छ ।

संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्द नै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ । बजार वा मानिसहरुको भिडभाडमा सकभर नजाने र जानै परे अनिवार्य मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् ।