हेटौंडा, १४ साउन । नेपालमा कोरोना सङ्क्रमणदर फेरि बढ्न थालेको छ । पछिल्लो समय संक्रमणदर बढ्न थालेपछि सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डा. वासुदेव पाण्डेकाअनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ ।

निषेधाज्ञा खुकुलो भएसँगै लापर्बाही भएकाले पनि सङ्क्रमण बढेको भन्दै विज्ञहरुले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिएका छन् ।

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा सङ्क्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विज्ञहरुकाअनुसार एक सङ्क्रमितले एक वा त्योभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जान्छ । सङ्क्रमणलाई सङ्क्रमित व्यक्तिमा सीमित राख्न सके मात्र सङ्क्रमण घट्ने हुन्छ । खोप जतिसक्यो चाँडै लगाउन विज्ञको सुझाव छ ।