हेटौँडा, १२ साउन । मुलुकभर यौन अपराध बढिरहँदा त्यसको असर बागमती प्रदेशमा पनि परेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार, पछिल्लो ३ वर्षमा बागमती प्रदेशमा यौन अपराधको घटना बढेको पाइएको हो ।
कार्यालयका अनुसार, बागमती प्रदेशमा आत्महत्या डरलाग्दोसँग बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३ सय २८ जनाले आत्महत्या गरेका थिए भने २०७६/७७ मा यो संख्या बढेर ४ सय ६ पुगेको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा ५ सय १० पुगेको छ । नेपालमा हरेक दिन आत्महत्या गर्नेको संख्या १६ पुगिरहेका बेला बागमती प्रदेशमा पनि आत्महत्या बढेको पाइएको छ ।
यस्तै, बागमती प्रदेशमा बाल यौनदुरुपयोग पनि बढिरहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ बाल यौनदुरुपयोगको घटना भएको बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा घटेर ४० पुगेको थियो । तर यो आँकडा बढेर आर्थिक वर्ष २०७७/७८ मा ४६ पुगेको हो ।
बागमती प्रदेशमा जबर्जस्ती करणीका उद्योग पनि बढेका छन् । आर्थिक वर्ष २०७५/७६ ममा २ सय २८ करणीका मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७६/७७ मा २ सय ५६ पुगेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा यो आँकडा बढेर २ सय ७ पुगेको छ ।
यस्तै, कलंककै रुपमा रहेको बोक्सी आरोप पनि डरलाग्दोसँग बढेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४ र आर्थिक वर्ष २०७६/७७ मा एउटा मुद्दा दर्ता भएकामा यो आँकडा ह्वात्तै बढेर आर्थिक वर्ष २०७७/७८ मा यो संख्या बढेर १३ पुगेको छ ।
यौन अपराधका घटना बढे पनि बागमती प्रदेशमा बहुविवाह, बालविवाह, जातीय छुवाछुत, मानव बेचविखन जस्ता जघन्य अपराध भने घटेका छन् ।
