हेटौंडा, १२ साउन । यसवर्ष बाढी पहिरोलगायत प्राकृतिक विपद्मा परेर गएको वैशाख १ गतेदेखि अहिलेसम्म १ सय ७ जनाको ज्यान गएको गएको छ ।

यसअवधिमा पहिरोमा ३३ जना, बाढीमा २७, डुबानमा ८, चट्याङ्ग लागेर ३८ र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।