हेटौंडा, १२ साउन ।
जनता समाजवादी पार्टीमा उपेन्द्र यादव पक्षले आधिकारिकता पाउँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रस्ट अल्पमतमा पर्नूभएको छ ।

उहाँ नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका वेला जसपा यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उहाँ प्रस्ट अल्पमतमा पर्नुभएको हो ।

लुम्बिनीमा महन्थ ठाकुर पक्षका तीन प्रदेश सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै सरकारमा छन् । यसअघि जसपाकी सांसद सुमन शर्मा रायमाझीले पोखरेल सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

रायमाझीको राजीनामासँगै पोखरेल सरकार प्रदेश सभाको अंकगणितअनुसार अल्पमतमा परेको थियो। तर, उहाले अविश्वासको प्रस्ताव फेस गर्नुभएको थिएन । उहाँविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा नै छ ।

हाल लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद छन् । जसमध्ये एमालेका ३८ र ठाकुर पक्षका तीनजना गरी ४१ जना सांसद पोखरेलको पक्षमा छन् । प्रदेशमा एमालेका माधव नेपाल पक्षमा दुईजना सांसद छन् ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्य इस्तियाक राईले पार्टी गतिविधिभन्दा बाहिर गएका सांसदलाई कारबाही हुने बताउनुभयो । ‘पार्टीको नीतिविपरीत जानेहरू कारबाहीको भागी हुन्छन्,’ उहाँले भन्नुभयो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आत्मालोचनासहित गल्ती स्वीकार गर्दै पार्टीमा आएको खण्डमा सोच्न सकिने बताउनुभएको छ । लुम्बिनीका तीन सांसदले त्यसो गरेमा उनीहरूको पद बच्नेछ । तर, उनीहरूको पद बचेको अवस्थामा पनि मुख्यमन्त्री पोखरेल अल्पमतमा हुनुहुने छ।

लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनको दल कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका रायमाझीसहित तीन र राष्ट्रिय जनमोर्चाका एकजना गरी ४२ जना सांसद सरकारको विपक्षमा यसअघि नै छन् । लेखाजोखा न्युज