हेटौंडा, ११ साउन । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले ३ वटा युनिटबाट विद्युत् उत्पादन भैरहेको छ । स्वदेशी पुँजी र व्यवस्थापनमा नेपालको हालसम्मकै ठूलो आयोजनाले साउन अन्तिमसम्ममा कुल चारवटा युनिटबाट विद्युत् उत्पादनको लक्ष्य बनाएको छ । चारवटा युनिटबाट ३०४ मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका प्रवक्ता गणेश न्यौपाने बताउनुहुन्छ ।
पछिल्लो समय कोभिडले आयोजना निर्माणमा कस्तो समस्या पर्यो, आयोजना निर्माणमा किन ढिलाई भएको हो ? लगाएत विषयमा प्रवक्ता न्यौपानेसँग सहकर्मी सम्झना श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट अहिले कसरी विद्युत् उत्पादन भइरहेको छ ?
अहिले हामीले तीनवटा युनिट, पहिलो र दोस्रो नम्बरको युनिटबाट १५२ मेगावाट विद्युत् उत्पादन गरिरहेका छौँ । गत शुक्रबारबाट चौथो नम्बरको ६ युनिटबाट पनि विद्युत् उत्पादन सुरु भएको छ । यो साउनको अन्तिमसम्ममा चार वटा युनिटबाट विद्युत् उत्पादन गर्ने आयोजनाले लक्ष्य राखेको छ । यो चारवटा युनिटबाट कुल ३०४ मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छ वटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको हो ।
अव व्यवसायिक उत्पादन कहिलेबाट थालिने छ ?
प्रत्यक युनिटबाट विद्युत् उत्पादन भएको १५ दिन पछि अर्थात् १५ दिन उत्पादनको परिक्षण सकेपछि व्यवसायिक उत्पादन हुन्छ । साउनको १५ बाट व्यवसायिक उत्पादन हुन्छ ।
आयोजनाबारे पछिल्लो समय केहि समाचारहरु पनि प्रकाशन भए, उद्घाटन गर्न हतार गरियो, परिक्षणको केहि समयमै चुहावट लगाएत समस्या आए भन्ने जस्ता समाचार बाहिरिए यसमा के भन्नुहुन्छ ?
यसरी नकारात्मक समाचारहरु बाहिरिनु राम्रो होइन । खास भन्नुपर्दा यो सबै नबुझेर हो जस्तो लाग्छ । उत्पादन सुरु भइसकेपछि स–साना समस्या आउनु कुनै नौलो कुरा होइन । परिक्षणको क्रममा समस्या आउँछ त्यसलाई समाधान गरेर अघि बढ्नुपर्छ ।
कोभिडले आयोजना निर्माणमा कस्तो प्रभाव पर्यो ?
कोभिडको त्रास अझै पनि कायम छ तर हामी सतर्कता अपनाएर काम गरिरहेका छौँ । सबै कर्मचारीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । यसले काम गर्दा मनोबल बढ्छ भन्ने लाग्छ । कुल कर्मचारीमा झण्डै एकतिहाई कर्मचारी कोभिड संक्रमित हुनुभयो ।
निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना निर्माण सम्पन्न हुन किन ढिलाई भइरहेको हो ?
निर्माण सुरु गरिसकेपछि डिजाइनमा परिवर्तन आयो । यसबाट पनि केहि समय त्यसैमा बित्यो । त्यसपछि भुकम्प, नाकाबन्दिले नराम्ररी असर गर्यो । भुकम्प पछि २० महिना काम गर्न सकिएन त्यसबाट पनि ढिला भएको हो । यसैगरि कोभिडले पनि प्रभाव पार्यो । यस्तै कारणले पनि आयोजना निर्माण सम्मपन्न हुनुमा ढिलाई भएको हो । निर्माण कार्य ढिलो भयो भन्दा पनि नेपालीले खुसी हुनुपर्ने हो । स्वदेशी लगानीमा नेपालकैै सबैभन्दा ठुलो आयोजना निर्माणमा भइरहेको छ । जसमा नेपालका जनशक्ति सामेल छन् । नेपालमा अव यो बराबरको आयोजना निर्माण हुन धेरै समय लाग्छ ।
आयोजना निर्माणको क्रममा कतिको राजनितिक हस्तक्षप बेहोर्नुपर्यो ?
दोलखामा निर्माणाधिन यो आयोजनामा यहाँका स्थानिय, प्रशासन, राजनितिक दल सबैबाट सहयोग भइरहेको छ । काम गर्न अप्ठ्यारो छैन । अन्य ठाउँमा जस्तो बाधा, असहयोग भएको छैन । यदि यसरी असहयोग भएको भए आयोजना अझ ढिला हुने थियो । यो सहयोगको लागि सबैलाई धन्यवाद दिनुपर्छ ।