हेटौंडा, ११ साउन ।

हेटौंडा उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयहरूलाई भौतिक रूपमा कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न कारण देखाई विद्यार्थीहरूको भौतिक उपस्थिति गराउने कायम भइरहेकाले यसो नगर्न निर्देशन दिएको हो ।

हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका निमित्त प्र्रशासकीय अधिकृत गङ्गाधर रिमालले जारी गर्नुभएको स्रूचनामा नगर शिक्षा समितिको बैठकले विद्यार्थीहरूलाई भौतिक रूपमा उपस्थित गराएर विद्यालय सञ्चालन नगर्ने निर्णय गरिसकेकोले विद्यालय खोलेमा शिक्षा ऐन नियम तथा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने समेत चेतावनी दिनुभएको छ ।

हेटौंडाका केही विद्यालयहरूले विद्यार्थीलाई गृहकार्य दिने वा अन्य कुनै कारण देखाई भौतिक उपस्थिति गराउने कार्य गरिरहेकोले यस्तो कार्य तत्काल रोक्न भनेको छ ।

हेटौंडा उपमहानगरपालिकाभित्र कोभिड १९ को सङ्क्रमणको जोखिम कायम रहेकोले नेपाल सरकारको निर्देशन बमोजिक वैकल्पिक माध्यमबाट पठनपाठन गराउन तथा वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिमका उपायहरू अपाउन पनि आग्र्रह गरेको छ ।