हेटौंडा, ११ साउन ।
मकवानपुर भोलि र पर्सि कोरोना भाइरस विरुद्धको जोन्स एन्ड जोन्सन खोप लगाइँदै छ । एक मात्रा लगाए पुग्ने सो खोप मकवानपुर जिल्लामा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाका १९ ओटै वडाका २० ओटा खोप केन्द्र्रमा लगाइने खोप हाललाई ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने र बाँकी रहेको खण्डमा १८ वर्षमाथिका सबैलाई लगाइने हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाका लागि जोन्सन एन्ड जोन्सनको २३ हजार मात्रा खोप आइसकेको स्वास्थ्य कार्यलय हेटौंडा, मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायले जानकारी दिनुभएको छ ।
५० देखि ५४ वर्ष भित्रका, विदेश जाने र रातो तथा निलो परिचय पत्र बाहक अपाङ्गता भएकाहरूलाई प्राथमिकता दिएर लगाइने चौलागाईले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लामा हालसम्म १२ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन् ।