हेटौंडा, ९ साउन ।
सत्तारुढ पाँच दलीय गठबन्धनको आज बसेको बैठकमा गठबन्धन र सरकार दुवैलाई कसरी प्रभावकारी ढंगबाट अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ ।
आज साँझ बसेको बैठकमा सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने विषयमा गठबन्धनका नेताहरूबिच सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्षसमेत निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न समेत सुझाव दिएको बताए । त्यस्तै गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सामान्य छलफल भए पनि विस्तृतमा छलफल नभएको बुझिएको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो ।
यसअघि गठबन्धनको बैठकमा एक पटक आफ्ना विश्वास पात्र विजय पौडेललाई पठाउनुभएका माधव नेपाल आज भने बैठकमा आफै सामेल हुनुभयो ।
गठबन्धनको आजको बैठकमा नेपाल सामेल भएसँगै ओलीसँगको एकता अझै टाढिँदै गएको अनुमान गर्न सकिन्छ ।