हेटौंडा, ९ साउन ।
जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले भोलि आफू पक्षका सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।

आज पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई संयुक्त प्रशिक्षण दिने नेता महेन्द्र राययादवले जानकारी दिए ।

बैठकमा संसदीय दलले पारित गरेर पठाएको दलको विधान पारित गर्ने एजेण्डा थियो । तर दलको विधान कार्यकारिणी समिति सदस्यहरूलाई पढ्नका लागि वितरण गरिएको र पढेर भ्याएपछि उनीहरूको सुझाव समेटेर संशोधनसहित पारित गरिने नेता राययादवले बताए ।

पारित गर्नका लागि बैठकको मिति नतोकिएको उनले बताए । त्यस्तै बैठकले ११ साउनमा निर्वाचन आयोगमा अनिवार्य उपस्थितिका लागि सबै कार्यकारिणी समिति सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।