हेटौंडा, ९ साउन ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका पार्टी कमिटिको आज बसेको बैठक बैठकले पार्टीका तीन जना नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
बैठकले नगर कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, नगर कमिटि सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस गर्ने निर्णय गरेको नगर कमिटि अध्यक्ष तीर्थ बहादुर थापा मगरले बताउनुभयो ।
खड्काले पार्टी नीति बिरुद्ध गतिविधि गरेको र ढकाल र चौँलागाई अन्य पार्टीमा प्रवेश गरेकाले उनीहरूलाई कारबाहीको सिफारिस गरिएको उहाले बताउनुभयो ।
साथै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर पार्टी कमिटिको बैठक अघि श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको सभामा पार्टी प्रदेश कमिटि सदस्य ललित घलान, प्रदेश कमिटि सल्लाहकार कौशल पाण्डे, जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिंह पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर कमिटि इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जीवन गोले लगायतको आतिथ्यता रहेको थियो ।