हेटौंडा, ९ साउन ।
नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने वडा तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।
त्यसपछि केन्द्रीय समितिमा थप छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, सह–महामन्त्री प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी हुनुहुन्थ्यो ।
यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।