हेटौंडा, ९ साउन ।
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ सङ्क्रमित थपिँदा ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


१ सय ३ जनाको पिसिआर र ३ सय ३१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४२ जना र २८ जना गरी थप ७० जनामा कोरोना पुष्टिभएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।


यस्तै विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन बसेका ३५ जना र संस्थागत आइसोलेशनमा बसेका ४ जना सङ्क्रमणमुक्त भएका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या ११ हजार ७ सय ४४ पुगेको छ ।

कोरोना पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरी थाहा र मनहरी भित्रका ३÷३ जना,बकैया गाउँपालिका भित्रका २ जना,भीमफेदी,कैलाश र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।


जिल्लामा हाल ५ सय २२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की महिला रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।
विगत केही दिनको तुलनामा आज सङ्क्रमितको सङ्ख्या बढेको छ ।